Notice
धार्मिक स्थलहरु
विविध जातजातिको बसोबास स्थलको रूपमा रहेको धनकुटा नगरपालिकामा धेरै थरीका धार्मिक स्थलहरू रहेका छन्, जसमध्ये बिहीवार हाटबजार निकट अवस्थित आठपहरिया राईको मार्गास्थान र धनकुटा बजारमा अवस्थित हिन्दू धर्माबलम्वीको निशान भगवती मन्दिर विशेष चर्चित छन् ।

 
मार्गाथान     
धनकुटा न.पा. वडा नं. ५ बिहीबारे हाटमा रहेको मार्गादेवीको मन्दिरलाई मार्गाथान भनिन्छ । मार्गाथानलाई इँटाको चौघेराले घेरी भित्र पस्नका लागि ढोका बनाइएको छ । चौघेराको बीचमा फलामका त्रिशूलहरू राखिएका छन् । त्यस मन्दिरमा आठपहरिया राई जातिले धुलेपुजा, न्वागीपूजा, मंसीरे पूर्णिमा आदिमा विशेष पूजा गरी सुँगुरको पाठा तथा कुखुराको चल्ला बलि दिने चलन रहेको छ ।
 


निशान भगवती मन्दिर     

धनकुटा नगरपालिका वडा नं. ६ मा अवस्थित निशानथान (निशान भगवती मन्दिर) करिब १६० वर्ष अगाडि स्थापना भएको मानिन्छ । यस मन्दिरमा प्रत्येक दिन शाही नेपाली सेनाबाट खटिएका पुजारीले विधिपूर्वक नित्य पूजा गर्ने गरिएको छ । एकादशी, औशी र आइतवार बाहेक अन्य दिनहरूमा यस थानमा बोका, राँगा, हाँस आदिको बलि दिने गरिन्छ । शाही नेपाली सेनाद्वारा बडा दशै तथा चैते दशैमा यस मन्दिरमा विधिपूर्वक विशेष पूजाआजा गरी बलि दिने गरिएको छ । यस मन्दिरमा दिनहुँ धेरै श्रद्धालुहरू दर्शन तथा पूजाआजाका लागि आउने गर्दछन् ।
 


भीमसेन मन्दिर     

भीमसेन मन्दिर नगरको वडा नं. ६ मा पर्दछ । स्व. श्री ५ राजेन्द्रको शासन कालमा पश्चिम ९ नं. झिल्टुङ नुवाकोटबासी बखनुवारसिंह भण्डारीले काजी पद पाई धनकुटा आउँदा सुनसान यस नगरमा १८८१ मा मन्दिर निर्माण र भीमसेनको मूर्ति स्थापना गरेको शिलालेखमा पाइन्छ ।